तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सुरु, आयोजकको विजयी सुरुवात
कोहलपुर : बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबले आयोजना गरेको कोहलपुर गोल्डकपको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार उद्घाटन गरेका हुन् । मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताएका थिए । प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशसभा सदस्यद्वय कृष्णा केसी नमुना र वसन्ती अधिकारी पनि फुटबल खेलाडीलाई हौसला बढाउन पुगेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे । शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । लुम्बिनी फुटबल एडेकेमी, घोराही दाङले भने थुप्रै अवसर पाए पनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोागिताको दोस्रो दिन आइतबार दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ । प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र दोस्रो हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।