हिमाली र पहाडी क्षेत्रमा आज, तराईमा भोलि होली
नेपालगन्ज : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको पर्व होली बिहीबार पहाडी र हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदै छ । तराईमा शुक्रबार होली भए पनि दुबै दिन मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा विभिन्न रङ लगाएर शुभकामना आदान प्रदान गरिन्छ ।
होलीको चलन कसरी सुरु भयो भन्नेबारे दुई वटा धार्मिक मत रहेका छन् । पहिलो, हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसंग पुराणहरूमा उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिका दहन अर्थात् चीरदाह गरेर आपसमा रंग, अबीर लगाएर खुसीयाली मनाएर होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ।
त्यसैले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।