‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी नेपालगन्जमा फोटो प्रदर्शनी हुँदै

नेपालगन्ज : फोटो सर्कलको आयोजनामा नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी तीन दिने निःशुल्क फोटो प्रदर्शनी हुने भएको छ ।
फोटो सर्कलका को–फाउन्डर नयनतारा गुरुङले बिहीबार नेपालगन्जका स्थानीय साझेदार रसरोकारवालाबीच भेटघाट गरेर फोटो प्रदर्शनीबारे जानकारी गराएकी हुन् । आगामी चैत ४ देखि ६ गतेसम्म रामलीला मैदानमा बिहान १० बजेदेखि बेलुका ५ बजेम्म फोटो प्रदर्शनी हुनेछ । प्रदर्शनी अवलोकनले ग्रामीण र सहरी क्षेत्रमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य बनाउने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सांसद मीना श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकी, सामाजिक अगुवा, महिला अगुवा, पत्रकार तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
प्रदर्शनीका लागि नेपालगन्जमा कालपृष्ठ दैनिक, नारी विकास केन्द्रीय कार्यालय, फातिमा फाउन्डेसन नेपाल, क्रियाशील पत्रकार महिला बाँके, वागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी, चलचित्र पत्रकार सङ्घ नेपाल बाँके र मेरो खुसी डटकमसँग साझेदारी गरिएको छ ।