भोलिदेखि नेपालगन्जमा रोजगार मेला
नेपालगन्ज । बाँकेमा शुक्रबारदेखि रोजगार मेला लाग्ने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लगाउन लागेको हो । संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताए । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताए । कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरेकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने कार्यक्रममा जानकारी दिए ।