मेलामा रोजगारी माग्दै १०४५ को निवेदन
नेपालगन्ज । नेपालगन्जमा बाँके रोजगार मेला सम्पन्न भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्जमा २ दिने रोजगार मेला लगाएको हो ।
मेला स्थलमा रोजगारदाताका ४० वटा स्टल थिए । रोजगारदाता र रोजगार खोज्ने बिच प्रत्यक्ष संवाद गरी मेलास्थलमै ९३ जनाको रोजगारी ग्यारेन्टी भएको मेलाका परामर्शदाता सरोज चौधरीले जानकारी दिए । अपाङ्गता भएका ७ जनालाई भने नेपालगन्जका होटलहरुले मेला स्थलमैै नियुक्ति पत्र दिएका थिए । चौधरीका अनुसार ६०२ जनाले तालिम आवश्यक रहेको भन्दै निवेदन दिएका जसमा १२७ जनाले आफूसँग सीप भए पनि प्रमाण पत्र नभएको भन्दै तालिम आवश्यक भएको जनाएका छन् । मेलामा रोजगार खोज्दै बाँकेका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नैैै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले मेलामा फारम भरेका बेरोजगार ब्यक्तिलाई आवश्यक पर्ने सीपयुक्त तालिम दिएर उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने बताउँछन् ।
अध्यक्ष धामी भन्छन्, ‘हामीले जिल्लामै पहिलो पटक रोजगार मेला लगाएका छौं । तीन तहकै सरकारसँग समन्वय र सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गरिनेछ ।’
मेलामा रोजगार संवाद
संघले रोजगार मेलामा शनिबार कृषि र पर्यटनका विषयमा सरोकारवाला बिच छुट्टाछुट्टै संवाद गरिएको थियो । सरोकारलाहरुले रोेजगारी सिर्जनाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । पत्रकार झलक गैरे र शंकरप्रसाद खनालले सहजीकरण गरेको संवाद कार्यक्रममा स्थानीय तहका प्रमुख वा प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योेग, कृषि र पर्यटन क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले वक्ता रहेका थिए ।