लुम्बिनी कप महिला फुटबलको उपाधिका लागि एपीएफ र नेपाल पुलिसबीच भिडन्त हुने
नेपालगन्ज : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिसबीच भिडन्त हुने भएको छ ।
नेपालगन्ज रङ्गशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबललाई शून्यका विद्ध ३ गोल अन्तर एपीएफ क्लब विजयी भएर फाइनलमा पुगेको हो ।
दोस्रो हाफको ७३औं मिनेटमा एपीएफकी अनिता केसीले पहिलो गोलको खाता खोलेकी थिइन् । त्यसको सात मिनेटपछि अर्थात ८०औं मिनेटमा एपीएफकै निशा ठोकर र ९०औ मिनेटमा सबिता राना मगरले १–१ गोल गरेर टिमलाई जिताए।
खेलमा म्यान अफ द म्याच एपीएफकी अनिता केसी भइन् । अनितलाई शसस्त्र प्रहरी जवान शिक्षालयका वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष शन्दिपजंग शाहले नगर रु ५ हजार हस्तान्तरण गरेर हौसला प्रदान गरेका थिए । पुलिसले मङ्गलवार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा जारी प्रतियोगिताको फाइनल खेल दिउँसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिए । विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।