राजस्व चुहावट नियन्त्रणबारे नेपालगन्जमा अन्तरक्रिया
नेपालगन्ज : राजस्व अनुसन्धान विभागले बिहीबार नेपालगन्जमा राजस्व चुहावट नियन्त्रण र भिसीटिएसको प्रयोग तथा परिपालना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । विभागले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको समन्वय तथा सहजिकरणमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा विभागका निर्देशक प्रकाश पोखरेलले नेपालमा राजस्व चुहावट हुने अवस्था, चुहावट नियन्त्रणका प्रयास र चुहावट हुँदा कानुनी रुपमा हुने कारबाही लगायतका विषयमा जानकारी दिएका थिए ।
विभागका उपमहानिर्देक कृष्णकुुमारी श्रेष्ठको अध्यक्षता र बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायीहरुले राजस्व अनुसन्धान चुहावट नियन्त्रणका उपाय र सरकारी रवैयाका कारण उद्योगी व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागि सुझाव दिएका थिए ।