लुम्बिनी कप महिला फुटबल : एपीएफ च्याम्पियन
नेपालगन्ज : सशस्त्र प्रहरी बलको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालगन्ज रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै एपीएफ विजयी भएको हो । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपीएफलाई विजयी बनाउन निर्णायक बन्यो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विजेता एपीएफलाई ५ लाख ५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल प्रदान गरे । प्रतियोगिताको उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका क्याप्टेन अनिता बस्नेत भइन् । उनलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरूले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा प्रतियोगितामा प्लेयर अफ द फाइनल गीता रानालाई प्रदान गरियोे ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, शसस्त्र प्रहरीका एसएसपी गंगाराम सुवेदी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, साविक मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, नेपालको पहिलो महिला ओलम्पियन खेलाडी पार्वती थापा, हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेस नेपालगन्जका प्रमुख लोकेन्द्र अर्याल, अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष निरज गौतम, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, प्रायोजक ईसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र रानालगायतले पुरस्कार ,मेडल तथा ट्रफी वितरण गरेका हुन् ।
पुलिस क्याप्टेन निरुलाई सम्मान
प्रतियोगिता सुरु हुनु अघि बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै विभागीय टिम नेपाल पुलिसमा क्याप्टेनको भूमिका निभाइरहेकी निरु थापालाई सम्मान गरिएको थियो । बाँकेको जानकी गाउँपालिका १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले प्रमाणपत्र र २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र अन्तरालका कार्यकारी जयनारायण शाह लगायतले सम्मान गरेका थिए ।