सरकारले शिक्षकका समस्या झन बल्झायो : प्रचण्ड
फत्तेपुर (बाँके) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने काम गरिरहेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रबैया शिक्षा क्षेत्रको समस्या समाधन गर्नुभन्दा समस्या बल्झाउनेतर्फ केन्द्रीत रहेको बताए । उनले आफू प्रधानमन्त्री भएका बेला शिक्षा विधेयक सदनमा ल्याएको स्मरण गर्दै विधेयकको काम अघि बढाउन सरकारले पहलकदमी नलिँदा शिक्षकहरुले आन्दोलन गर्नु परेको जिकिर गरे ।
राप्ती नदीको तटबन्ध निर्माणका लागि भारत सरकारले १० अर्ब दिने सहमति गरे पनि नदिएको प्रचण्डको भनाइ थियो । भारतले रकम नदिए सरकारले नै लगानी गरेर भए पनि राप्ती सोनारीका जनताको जिउधन जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।