आर्ट अफ लिभिङको भैरहवामा आश्रम लुम्बिनीको उद्घाटन
शंकरप्रसाद खनाल । भैरहवा
द आर्ट अफ लिभिङ नेपालले रुपन्देहीको भैरहवामा आश्रम लुम्बिनी सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीको बुद्ध कोलोनीमा रहेको लुम्बिनी आश्रमको संस्थाका संस्थापक आध्यात्मिक गुरु श्री श्री रविशंकरको ६९औं जन्मजयन्तीको अवसर पारेर मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट उद्घाटन गरिएको हो ।
आश्रम संयोजक दिपेन्द्र प्रधानका अनुसार झन्डै ७ कठ्ठा जग्गामा बनाइएको आश्रममा आवास प्रयोजनका सहित २७ कोठा, योग हल, किचन, डाइनिङ, प्रशासनीक भवन, मन्दिर, होमकुण्ड र बगैचा रहनेछ । साढे चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिइएको आश्रममा दुई करोड रुपैयाँको लागतमा अहिले चारैतिर पर्खाल लगाएर भुइँ तला सञ्चालनमा आइएको होे । भवन निर्माणका लागि द आर्ट अफ लिभिङ नेपालबाट ५० लाख रुपैयाँ सहयोग, भान्साका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ र अरु सबै रकम द आर्ट अफ लिभिङका स्वयंसेवकहरुले दान गरेका हुन् । निर्माण कार्य जारी रहेकाले सहयोगी मनबाट आश्रममा दान दिने क्रम जारी नै छ । आश्रम उद्घाटन समारोहमा स्वागत मन्तव्यका क्रममा संयोजक प्रधानले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसँग पनि सहयोगको लागि ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘अहिलेसम्म सरकारी रकम खासै आएको छैन । आफ्नै साधनस्रोतबाट अहिलेसम्म काम गरेका छौं । म यही मञ्चबाट मुख्यमन्त्री ज्यूसँग सहयोगका लागि आग्रह गर्छु ।’
कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री आचार्यले पनि द आर्ट अफ लिभिङको कोर्स गर्नेसँगै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट समाजलाई सद्मार्गमा डोर्याउने बताएका छन् । लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्य गरिने प्रतिबद्धता जनाउँदै भने, ‘समाजले नैतिकता भुलेको छ । आध्यात्म परित्याग गरेको छ । विगतका संस्कृतिले आफैलाई गिज्जाइरहेको छ । धर्ममाथि विभिन्न आक्रमण गरिरहेकाले समाजमा अराजकता बढेको छ । ज्ञान र साधना नै समाजलाई परिवर्तन गर्ने, सत्मार्गमा लैजाने अभियान हो ।’
कार्यक्रमको अध्यक्षता गरेका आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहले नेपालमा भैरहवामा तेस्रो तर भव्य आश्रम सञ्चालन गरेको भन्दै बधाइ दिए । उनले नेपालमा प्रमुख शहरहरुमा पनि आश्रम विस्तार गर्ने योजना सुनाए । आर्ट अफ लिभिङले यसअघि विराटनगर र रुपन्देहीको बुटवलमा आश्रम सञ्चालनमा ल्याइसकेको छ । आर्ट अफ लिभिङ नेपालका कन्ट्री कोअर्डिनेटर देविका शाहका अनुसार देशका सात वटै प्रदेशमा नियमित योग ध्यान गर्ने २६ वटा केन्द्र सञ्चालनमा छन् ।
आश्रम लुम्बिनी परिसरमा आर्ट अफ लिभिङलेरुद्रपूजा, गणपति होम, आयुश होम, गुरुपूजा, महासत्सङ र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
कार्यक्रम स्थलमै आर्ट अफ लिभिङको राष्ट्रिय कार्य समिति (नेशनल एपेक्स), कार्यक्रम संयोजक, जिल्ला समन्वय समिति र शिक्षकहरुको बैठक डाकेर देशैभरी कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरिएको थियो ।
बैठकमा एपेक्सका अध्यक्ष सिद्धेश्वरकुमार सिंह, महासचिव प्रभुराज वैद्य, कोषाध्यक्ष रिता वैद्य, कन्ट्री कोअर्डिनेटर देविका शाह, वाइएलटीपी प्रोग्राम कोअर्डिनेटर मिखा माथेमा र शिक्षक कोअर्डिनेटर राजेश प्रधानले सहभागीको जिज्ञासाको जवाफ र प्रभावकारी कार्यबारे धारणा राखेका थिए ।
कार्यक्रममा डीसीसी कोअर्डिनेटरहरु उज्ज्वल कसजु (रुपन्देही), भोज खड्का (चितवन), सन्देशदास श्रेष्ठ (विराटनगर) र शंकरप्रसाद खनाल (नेपालगन्ज)ले आर्ट अफ लिभिङमा भए गरेका गतिविधि र सुधारका लागि सुझाव दिएका थिए । कार्यक्रममा आर्ट अफ लिभिङका रुपन्देहीका प्रशिक्षकहरुले पनि अनुभव सुनाएका थिए ।