गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं : गोधूलि कला साहित्य प्रतिष्ठानले साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको १९औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । अरनिको अभियान, नोबेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका हुन् । कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि थिए ।
सोही अवसरमा कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान, वरिष्ठ मूर्तिकार भुवन थापा ‘बहुबि’लाई गोधूलि अरनिको कला सम्मान, साहियकार तथा समाजसेवी पलबीर जुग्जालीलाई गोधूलि सत्यमोहन संस्कृति सम्मान, अरनिको अभियन्ता डा. सागर न्यौपानेलाई अरनिको अभियान राष्ट्रिय पुरस्कार, अनुवादक अणुराज जोशीलाई गोधूलि सिर्जना सम्मान, समाजसेवी केशर सुनारलाई गोधूलि समाजसेवा सम्मान, लोकसंस्कृतिका संरक्षक राम भण्डारीलाई गोधूलि कला संस्कृति संरक्षण सम्मान, साहित्यकार अज्ञात युवक (लवप्रसाद भण्डारी) लाई गोधूलि साहित्य जागरण सम्मान, समाजसेवी अर्जुन सदाशंकरलाई गोधूलि कला–साहित्य सेवा सम्मान, गजलकार तथा गीतकार रश्मी रोदनलाई गोधूलि युवा सिर्जनशील सम्मान, कलाकार अर्पिता पराजुलीलाई गोधूलि चित्रकला सम्मान र बालप्रतिभा संगम बि.क.लाई गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार प्रदान गरिएको थियोे ।
अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको बारेमा समालोचक तथा लेखक छायाँदत्त न्यौपाने र अरनिको अभियानका संस्थापक नारायणकुमार जिसीले परिचय प्रस्तुत गरेका थिए । उक्त भव्य कार्यक्रमका वीच प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवस तथा विशिष्ट साहित्यकारहरुले चर्चित महिला साहित्यकार ललिता दोषीका “ललिताको लालित्य” (सुसेली सङ्ग्रह), “उघ्रिँदैन आकाश” (मुक्तक सङ्ग्रह), “हार्मोनियमको धुन” (बाल चित्रकथा) र “नीलकमल” (अङ्ग्रेजी कथा) समेत चार कृतिहरुको लोकार्पण गरेका थिए । सो अवसरमा उक्त कार्यक्रमका संयोजक एन.बी. अन्जानलाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो भने एन्जल वल्ड ईन्टरनेशल एकेडेमीका विद्यार्थीहरुद्वारा मारुनी नृत्य प्रस्तुत गरेर सबैलाई स्वागत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।
गोधुलि कला साहित्य प्रतिष्ठानकी संरक्षक पशुपति गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले गरेका थिए । प्रमुख अतिथि तुलसी दिवसले यस्ता कार्यक्रमको आयोजना सरकारी तहबाट हुनुपर्नेमा गोधुलिले गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवाद दिएका थिए । प्रतिष्ठानकी उपाध्यक्ष साहित्यकार ललिता दोषीले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वरिष्ठ कवि लक्ष्मी मालीको कवितासंगै कार्यक्रमको समापन गरिएको थियो ।