पत्रकार गिरीलाई चलचित्र पत्रकार संघको सम्मान
नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँकेले पत्रकार सावित्री गिरीलाई सम्मान गरेको छ ।
संघको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकार गिरीलाई दुइ हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरेका हुन् । गोरखापत्र दैनिक र रेडियो कृष्णसारमा कार्यरत पत्रकार गिरी क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेको अध्यक्ष हुन् ।
सोही समारोहमा संघले नेपालगन्जका म्युजिक भिडियो निर्देशक तथा डान्सर नवराज सुवेदीलाई तीन हजार एक सय रुपैंयासहित सम्मान गरेको थियो । सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउदैं चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरेका थिए । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपुरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताउँदै नेपालगन्जमा सुविधा सम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए ।
पत्रकार निरज गौतम, संगीतकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धी सीप अभिवृद्धि गर्न सुझाव दिएका थिए । संघका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भाषण कार्यवाहक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन्।