प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन नेपालगन्जमा सुरु

नेपालगन्ज : प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ। पूर्वखेलाडी समाज बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजना गरेको प्रतियोगिताको शुक्रबार नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर विष्टले नेपालगन्जको खेल क्षेत्रको विकासमा पालिका सधैं साथमा रहेको बताए । राष्ट्रिय र अन्तरराष्ट्रीय स्तरमा नेपालको शीर उचो पार्ने माध्यम खेल नै भएको जिकिर गर्दै मेयर विष्टले खेलकुदको विकासमा गैसरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्नेमा जोड दिए । खेलाडी उत्पादन गर्ने प्रमुख थलो विद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाइ थियो।
समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पूर्व खेलाडीलाई एकीकृत गर्दै खेल क्षेत्रको सम्बर्द्धन र विकास गर्ने उद्देश्यले गत वर्ष पूर्वखेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए । उनले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशील बनाउदै लैजाने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा ब्वाईज अण्डर १५ इभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टिमको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्तकुमार श्रेष्ठले जानकारी दिए । फाइनल खेल शनिबार हुनेछ । अण्डर १५ तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २५ /२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए ।