शक्तिपीठ बागेश्वरी पुस्तकको विमोचन
नेपालगन्ज : पश्चिम नेपालको चर्चित शक्तिपीठ बागेश्वरीबारे दोस्रो पुस्तक प्रकाशित भएको छ । बागेश्वरी गुठी व्यवस्थापन समिति नेपालगन्जले शक्तिपीठ बागेश्वरी नामक पुस्तक प्रकाशित गरेको हो । यस अघि संस्कृतिविद् राजकुमार सुवेदीले २०५३ सालमै बागेश्वरी मन्दिर परिचय नामक पुस्तक प्रकाशित गरेका थिए ।
समितिका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायतले शनिबार नेपालगन्जमा पुस्तक विमोचन गरेका हुन् । पत्रकार शंकरप्रसाद खनाल सम्पादक रहेको पुस्तकमा बागेश्वरी मन्दिरकोे इतिहास, मन्दिर पुनर्निर्माण, मन्दिर परिसरका सम्पदा, मन्दिरको महिमा, सम्पत्ति, मन्दिरमा सुधारका लागि गुठी समिति र कानुनी प्रयास, महन्त र पूजा परम्परा, महाआरतीका विषयमा लेख समेटिएका छन् । १७२ पृष्ठको पुस्तकमा बागेश्वरीको जग्गा, अदालतका आदेश, छानबिन समितिका प्रतिवेदनहरु, लिखत, निर्णयहरु, मन्दिर अंकित हुलाक टिकट, सिक्का, मिडियाका समाचार, पुस्तकको अनुसूचीमा राखिएको छ ।
पुस्तक विमोचन समारोहमा समितिका अध्यक्ष डा.धवल शम्शेर राणाले मन्दिरलाई देश विदेशमा चिनाउन मन्दिरबारे पुस्तक र पुस्तिका प्रकाशित गरिएको बताए । सो अवसरमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष मधुसूधन शर्माको आर्थिक प्रतिवेदन र सचिव गोपालप्रसाद अधिकारीको सांगठनिक प्रतिवेदन प्र्रस्तुत गरिएको थियो । कार्यक्रममा सरोकारवालाहरुले मन्दिरको सम्पत्ति, व्यपस्थापनमा गर्नुुपर्ने सुझाव, पुस्तक र प्रतिवेदनमा सुधारका लागि सुझाव दिएका थिए ।