बालसुधार गृहमा लागूऔषधविरुद्ध अभिमुखिकरण

नेपालगन्ज : बाँकेको बालसुधार गृहमा लागूऔषधविरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टर, एडभोकेसी फोरम नेपाल, जयेन्दु बालसुधार गृह, जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा जयेन्दु बालसुधार गृह आसमानपुरमा रहेका कानूनी बिवादमा परेका बालकहरुको लागि एक दिने लागूऔषधविरुद्ध अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा पूर्वप्रहरी नायव उपरीक्षक समेत रहेका होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजनकुमार गौतम, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक नागरिक कार्यालयका प्रहरी निरीक्षक शिवा थापा, बालसुधार गृहका इन्चार्ज विमला काउचा मगर, अधिवक्ता सुरेशकुमार गौतम लगायतले लागूऔषधबिरुद्धका विभिन्न सवाल र कानूनी पाटोमा सहजिकरण गरेका थिए ।

पछिल्लो समय बालसुधार गृहमा समेत लागूऔषध छिर्ने गरेको र यसले बालकहरुको आचरण सुधार्ने भन्दा पनि अपराध गर्न उत्प्रेरित गरि विभिन्न हिंसात्मक क्रियाकलापहरु हुने गरेको चर्चा चलेको सन्दर्भमा अभिमुखिकरण कार्यक्रम गरिएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहेका अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
लागूऔषधको सेवनले ब्यक्तिको ब्यक्तित्व समाप्त पार्ने मात्रै नभइ यसले विभिन्न अपराधिक क्रियाकलाप निम्त्याउने भएकाले यसको रोकथामका लागि बालकहरु आफै जागरुक हुनुपर्ने होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजनकुमार गौतमले बताए ।


एक सय बढी बालकको उपस्थितिमा गरिएको कार्यक्रममा बालकहरुले लागूऔषधको प्रयोग नगर्ने र बालसुधार गृहलाई लागूऔषध निषेध गृहको रुपमा विकास गर्न आफ्नो सामूहिक प्रतिबद्धता जनाएका थिए ।