बाँके राप्तीसोनारीका युवा पत्रकारितामा आकर्षित

रमेशकुमार यादव । अगैया (बाँके)
बाँकेको राप्तीसोनारी गाउँपालिकाका युवायुवतीको पत्रकारितामा आकर्षण देखिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि सुरु गरेको तीन दिने पत्रकारिता तालिममा गाउँगाउँबाट युवायुवती सहभागी भएका हुन् । महासंघका बाँके सचिव कृष्ण ओलीका अनुसार गाउँपालिकाका ९ वटै वडाबाट पाँच पाँच जनाका दरले ४५ जना तालिममा सहभागी भएका हुन् ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष अध्यक्ष तप्तबहादुर पौडेलले तालिम शुभारम्भ गर्दै निडरताका साथ आलोचना गर्ने गरी कलम चलाउने पत्रकार बन्न शुभकामना दिँदै सहभागीहरुलाई गलत गर्नेका विरुद्ध सजग हुन आग्रह गरे ।
कार्यक्रममा
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले गाउँपालिकाका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ७ का वडाध्यक्ष रामलखन र वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार थारुले तालिममा सिकेका कुरा व्यवहारमा उर्तान सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए ।

तालिमको पहिलो दिन अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनालले समाचार र समाचार लेखनका विषयमा सहजीकरण गरेका थिए भने नागरिक दैनिकका संवाददाता अर्जुन ओली पत्रकार, पत्रकारिता, पत्रकारिता सिद्धान्त र पत्रकारिताका कामबारे प्रशिक्षण दिएका थिए ।