नेपालगन्ज फोटो फेस्टिवल असार ४ र ५ नेपालगन्जमा

नेपालगन्ज : नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ ।
अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफी तालिम पनि सन्चालन हुने भएको छ । फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरबाट सहभागी फोटोमध्ये निर्णायक मण्डलले छनौट गरेका १११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धामा छानिएका १११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ ।
बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । साथै फेस्टिवलको कोअर्डिनेटरको जिम्मेवारी पत्रकार निशु जोशीलाई प्रदान गरिएको छ । जोशीले फेस्टिवलको दोस्रो संस्करणमा वर्ष फोटो उपाधि जितेकी थिइन् । यसैगरी पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राजबहादुर शाहीले उपाधि जितेका थिए ।
१११ फोटोमध्येबाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन् । यस फोटोलाई वर्ष फोटो –२०८१ अवार्ड प्रदान गरिनेछ । नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सबैभन्दा ठूलो र मुख्य पुरस्कार हो । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशैभरबाट उत्साहजनक रुपमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिंदै आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा सबैलाई आमन्त्रण गर्दै भने – ‘यो प्रदर्शनीमा सिंगो नेपाल झल्किनेछ।’

भोटका आधारमा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने

यसवर्ष फोटोग्राफरका फोटोहरुमध्य सर्वाधिक भोट प्राप्त गर्ने फोटोले पनि पुरस्कार प्राप्त गर्ने भएको छ । फेस्टिवलका निर्णायकहरुले छनौट गरेका शीर्ष ३१ फोटोहरु भोटिङका लागि अनलाइन राखिएको छ । इसेवा मार्फत मन परेको फोटोमा भोट गर्न सकिने छ । भोटिङ पार्टनर ईसेवा रहेको छ । आगामी असार ५ गते दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा भोट गर्न सकिनेछ । सर्वाधिक भोट पाउने फोटोलाई यस वर्षको पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
शीर्ष ३१ मा अम्वीर तोलाङ, बबी साईं, तील थापा मगर, शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु, आर्यन धिमाल, विजय थापा, तिलक गाहा मगर, भुवन श्रेष्ठ, दिलचन पुन, हिमाल गैरे, जीवन लामा, केशव न्यौपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल, शंकर भुजेल, मैत्या घर्ती मगर र विनय रावलको फोटोहरु पिपुल्स च्वाइस अवार्डका लागि चुनिएका छन् । फोटो प्रतिस्पर्धामा देशैभरबाट २१ सय भन्दा बढी फोटो सहभागी थिए ।

विधागत उत्कृष्ट पुरस्कार
यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरि प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ ।