मेरोखुसीका सम्पादक खनाललाई सम्मान
बगनाहा (बर्दिया) : बर्दियाको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरेको छ । सम्पादक खनाल अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उपसम्पादक पनि हुन् ।
कला, साहित्य, सामाजिक, सांस्कृतिक, शैक्षिक, पर्यावरणीय र भौतिक विकासका क्षेत्रमा कलम चलाएर पत्रकारितामार्फत योगदान गरेको भन्दै प्रतिष्ठानले २१२औं भानु जयन्तीको अवसरमा आइतबार बगनाहामा आयोजित कार्यक्रममा खनाललाई सम्मान गरेको हो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सैना, ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई र ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा खनाललाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
सोही अवसरमा राजधानी दैनिकका सुदीप अधिकारी र रेडियो टाइगरका भावुक योगीलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी सर्जक तथा कलाकार सन्तराम थारु, ठग्गु थारु, सोम डेमोनडौरा, प्रभात सुवेदी, ईश्वरी रिजाल, जेवी अनुरागी, स्थानीय समाज सेवी कृष्ण शर्मा वाग्ले, छविलाल सापकोटा र श्यामलाल थारु, पूर्वप्रधानद्वय सन्तराम थारु र श्रीराम थारुलाई पनि सम्मान गरिएको थियो ।
भानु जयन्तीको अवसरमा आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा चुरे माविकी छात्रा ईश्वरा रिजाल प्रथम, नेरामावि कर्मलाकी छात्रा एन्जला आचार्य दोस्रो र किसान मावि वनकट्टीका छात्र हरिप्रसाद रिमाल तेस्रो र जनज्योति मावि बकुवाका छात्र अर्पण खनालले सान्तवना पुरस्कार जितेका थिए । विजेताहरुलाई क्रमशः तीन हजार, दुई हजार पाँच सय, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा आधा दर्जन विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सैनाले ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको मुखपत्र प्रज्ञाशु र थारु भाषाको पुस्तक बर्हीको विमोचन गरेका थिए । प्रज्ञाशुको साहित्यकार तथा पत्रकार राजेन्द्रप्रसाद धिताल र बर्हीको ललित कुश्मीले समीक्षा गरेका थिए ।
मन्त्री तिमिल्सैनाले ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले कला र संस्कृति संरक्षणका लागि गरेका रचनात्मक कार्यको प्रशंशा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिका प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षण तिलकराम लम्साल, नगर उप प्रमुख तथा प्रतिष्ठानका संरक्षक बिनाकुमारी भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव आख्यानकार सनद रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकाललगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले स्वागत गरेका थिए । कार्यक्रममा जलेश्वर गुरुकुलका बटुकहरुले स्वस्ती वाचन र भानुभक्तका रचना वाचन गरेका थिए भने गण्डकी सेवा समाजले भजन गाएको थियो । कार्यक्रम सुरु हुनु अघि बगनाहा बजारमा मगर महिलाहरुको पञ्चेबाजासहित प्रभातफेरि गरिएको थियो ।