खजुरामा ब्यूतियो जनश्रमदान, वडाध्यक्षसहित स्थानीय झाडी सफाइमा

खजुरा गाउँपालिकाको वडा नं. २ ले गरेको यस्तो अनुकरणीय कार्य अरु स्थानीय तह र वडाले पनि सिको गर्न जरुरी

खजुरा : बाँके खजुरा गाउँपालिका वडा नं. २ मा स्थानीय जनश्रमदानका लागि ओइरो नै लागेको छ । खजुरा-२ ले शुक्रबार माइकिङ गरी सडक सफा गर्न आव्हान गरेपछि वडाको के गाउँ, बलैपुर लगायत टोलका गाउँका स्थानीयको जनश्रमदानका लागि लर्को लागेको हो । के युवा, के बालबालिका, महिला, बृृद्धबृद्धा घरेलु हात हतियारसहित सडक सफा गर्न जुटेका थिए ।
के ८१ नं. चोकदेखि ९६ नं. र सोदेखि पूर्व ३८ नं. चोकसम्मको सडकका दांयाबांया किनारामा रहेका सबै खालका झाडीझपटीहरू हटाई सडक खुला पारिएको हो । झाडीले सडक नै छोपिने अवस्थामा पुगेको सो क्षेत्रमा अब यातायात सरल र सहज ढंगले आवतजावत गर्न मिल्ने भएको वडा अध्यक्ष धनराम ओलीले बताए । उनले श्रमदानमा सहभागी वडाबासीलाई धन्यवाद दिँदै वडाको काममा यसरी नै जनश्रमदान गरेर हातेमालो गर्न आग्रह पनि गरेका छन् । वडाध्यक्ष ओलीले अब प्रत्येक हप्ताको एक दिन शनिबारका दिन बिहान ठिक ६ बजेदेखि बाटो र नाली सरसफाइसहितका कार्यहरू निरन्तरता दिने योजना रहेको बताउँछन् ।

संघीयता अघि गाउँघरमा आफ्नो काम आफै गर्न जनश्रमदान मार्फत धेरै सामाजिक कार्य हुँदै आएकोमा स्थानीय तहले यस्ता कार्यका लागि बजेट नै विनियोजन गर्न थालेपछि स्थानीयले जनश्रमदान बिर्सँदै गएका छन् । खजुरा गाउँपालिकाको वडा नं. २ ले गरेको यस्तो अनुकरणीय कार्य अरु स्थानीय तह र वडाले पनि सिको गर्न जरुरी छ ।