सिनेरोयलमा दैनिक औसत ७ सयले हेर्छन् सिनेमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सुविधा सम्पन्न सिनेमा थियटर सिनेरोयलमा दैनिक औसत सात सय जनाले सिनेमा हेरिरहेका छन् ।
दुई वर्षको अवधिमा ५ पाँच लाख दुुई हजार ५७६ जना दर्शकले हलमा सिनेमा हेरेको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा सिने रोयलका एमडी डा. राहुल थापाले जानकारी दिए । जुन औसत वार्षिक दुई लाख ५१ हजार २८८ जना, मासिक २० हजार ९४० जना र दैनिक ६९८ जनाले सिनेमा हेरेको देखिन्छ । यो अवधिमा हलमा २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आए ।
पूर्णबहादुरको सारङ्गी ३८ हजार ४६२ जनाले हेरेर सर्वाधिक कमाउने नेपाली चलचित्र बन्यो भने ३१ हजार ९७ दर्शकले हेरेको पुष्पा–२ सर्वाधिक हेरिएको हिन्दी सिनेको रुपमा दर्ज भयो । हिन्दी सिनेमाकोे बोलबाला रहेको नेपालगन्ज क्षेत्रमा नेपाली सिनेमाले बजार उछिनेर रेकर्ड कायम गरेको छ ।
नेपाली फिल्म प्रदेशी, घरज्वाँई, पूर्णबहादुरको सारङ्गी, उmनको स्वाइटर, अन्जीलाले हलमा ५१ दिनभन्दा बढी समयसम्म चल्ने सिनेमाको रेकर्ड पनि कायम गरे ।
दोश्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक थापाले नेपालगन्जको ब्राण्ड बनेको सिनेरोयल काठमाडौं र पोखरा लगायतका सहरमा पनि विस्तार गर्ने महत्वाकाँक्षी योजना सुनाएका थिए ।