ब्लड बैंककोे सेवा नयाँ तीन तले भवनबाट सुरु

नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्रादेशिक रक्तसञ्चार सेवा सोमबारदेखि नवनिर्मित तीन तले भवनबाट सुरु भएको छ ।
६०औं नेपाल रक्तसञ्चार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका नवनिर्वाचित महामन्त्री मीनबहादुर मल्लले रक्तसञ्चार सेवाका लागि नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरेका हुन् ।

भेरी अस्पताल परिसरभित्र संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रुपैयाँ विनियोजन गरेकोमा २ करोड ९५ लाख रुपैयाँमा भवन निर्माण र ५ लाख रुपैयाँमा डीपीआर निर्माण गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । तीन तले भवनमा भुँइ तलामा रगत संकलन, वितरण, भण्डारण लगायतका प्राविधिक काम हुनेछन् । पहिलो तलामा कार्यालय र दोस्रो तलामा बैठक र रगत संकलन गर्ने हलको ब्यवस्था गरिएको रेग्मीले जानकारी दिए ।

नेरेसो रक्तसंचार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका महामन्त्री मीनबहादुर मल्ल, शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह लगायतले मन्तव्य राखेका थिए । ब्लड बैंकको वार्षिक प्रतिवेदन प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेरेसो जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र दैलेखी सेवा समाजका व्यक्ति र स्वयंसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो ।