वीरले १३६औं मनाउँदा भेरीले किन भन्यो १३५औं वार्षिकोत्सव !
नेपालगन्ज : वीर अस्पताल काठमाडौं र भेरी अस्पताल नेपालगन्ज एकैसाल स्थापना (वि.स.१९४७)भएका केन्द्रीय अस्पताल हुन् । दुबै अस्पतालले सोमबार एकैदिन वार्षिकोत्सव मनाए । वीरले १३६औं वार्षिकोत्सव स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रमुख अतिथि बनाएर भव्यताका साथ मनाइरहँदा भेरी अस्पतालले बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा स्थापनाको एक वर्ष घटाएर भव्य रुपमै वार्षिकोत्सव मनायो ।
लामो समयदेखि वार्षिकोत्सव नमनाएको भेरीले अस्पताल विकास समितिका पूर्वअध्यक्ष प्रमोद धिताल अध्यक्ष रहेको बेलादेखि भव्य वार्षिकोत्सव मनाउन सुरुवात गरेको हो । त्यसयता भेरीले हरेक वार्षिकोत्सवमा एक वर्ष घटाउँदै आएको छ । २०८२ सालमा १९४७ घटाउँदा १३५ वर्ष नै हुन्छ । अर्थात अस्पताल १३६औं वर्षमा प्रवेश गरेको हो । यो जोड घटाउमा भेरी चिप्लियो कि, वीर ? त्यो त भाषाका विज्ञले नै जानुन् ।
भेरीको वेभसाइटमा वि.सं.१९४७ मिति लेखे पनि १३० वर्षअघि स्थापना भएको उल्लेख छ । यो त वेभसाइट अपडेट नभएर ६ वर्ष नै ढिलो भएको होला ।
वीर अस्पतालले भने आफ्नो वेभसाइटमा वि.सं.१९४७ साउन १२ गते श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल भनेको छ । १९४७ देखि पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा चलेको भेरी अस्पताललाई वर्ष घटाउन किन परेको होला ? यो भने अस्पताल प्रशासक र अस्पताल विकास समितिले नै जानुन् ।
पूर्व मेसु र कर्मचारीलाई दीर्घसेवा पदक प्रदान
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा सेवा निवृत्त पूर्व प्रमुख मेडिकल सुपरिटेन्डेन्टहरु डा.मोहीउद्दिन किदवाई, डा.श्यामसुन्दर यादव, डा. विनोदकुमार खेतान, डा.पिताम्वर सुवेदी, डा.वीरेन्द्रबहादुर चन्द र डा. रुपानन्द अधिकारीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अस्पतालमा २५ वर्ष सेवा गर्ने कर्र्मचारीलाई दीर्घसेवा पदक पनि प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा भएका विभिन्न प्रतियोगितात्मक कार्यक्रमका उत्कृष्ट कर्मचारीहरुलाई पुरष्कृत गरिएको थियो । कार्यक्रममा कर्मचारीहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।