नेपालगन्जको कान्तितालमा सरसफाइ
नेपालगन्ज : नेपालगन्जको कान्तिताल क्षेत्रमा बुधबार सरसफाइ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २१ र २२ मा रहेको तालमा द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उप-महानगरपालिकाको सहकार्यमा ताल सफाइ गरिएको हो ।
३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट ताल क्षेत्रबाट प्लाष्टिकका बोतल र झोला, शीशा, कागजजन्य फोहरलाई वर्गीकरण गरेर संकलन गरिएको थियो । प्रशोधन गरी पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित भण्डारण गरेको थियो भने पुनः प्रयोग गर्न नसकिने फोहरलाई नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लगेको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगमा ल्याउन सकिने फोहरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताए । सरसफाइको समापनको अवसरमा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले सरसफाइमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिएका थिए ।