मानव अधिकार रक्षामा मिडियाको भूमिका महत्वपूर्ण

नेपालगन्ज : मानव अधिकार रक्षामा मिडियाको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बुधबार यहाँ आयोजना गरेको मानव अधिकार र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन् ।
वक्ताहरुले मानव अधिकारको अभ्यास, संरक्षण र प्रबद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमिका हुने भन्दै मिडिया स्वतन्त्र भए मात्र मानव अधिकार बलियो हुने धारणा राखेका थिए । मानव अधिकारको संरक्षणमा सञ्चार अनिवार्य साधन भएको बताउँदै सहभागीहरुले सञ्चार स्वतन्त्र, निष्पक्ष र उत्तरदायी भए मात्र लोकतन्त्र र मानव अधिकारको रक्षा सम्भव हुने बताए । यस्तै सामाजिक मुद्दाहरुलाई अधिकारकर्मीहरुले सशक्त ढंगले उठाउने र त्यसलाई सञ्चारले तार्किक निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका मानव अधिकार अधिकृत दयाराम पाठक, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, अधिवक्ताहरु विकास आचार्य, वसन्त गौतम, वीरबहादुर ओली, अधिकारकर्मीहरु प्रकाश उपाध्याय, कमला पन्त, केशव कोइराला, प्रभात सिंह ठकुरी, केशव नेपाली, पत्रकारहरु प्रेम कसी, निरज गौतम, नरेन्द्रजंग पिटर, मो। आरिफ अन्सारी, विरेन्द्र जैसी, साहिदा साहले सामाजिक अभियानहरुलाई तार्किक निष्कर्षमा पुर्याउन आपसी सहकार्य र समन्वयलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।