शक्तिपीठ बागेश्वरीको साउन विशेष महाआरती भव्य, अझै भव्य बनाइँदै
नेपालगन्ज : नेपालगन्जको शक्तिपीठ बागेश्वरीको साउन विशेष महाआरती भव्य भइरहेको छ ।
पहिलो साता ५ साउनको महाआरती लक्ष्य भन्दा धेरै राम्रो भयो । १२ साउनको दोस्रो महाआरती पहिलो साताभन्दा अझ बढी भव्य भयो । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी साउन महिनाका बाँकी रहेका दुई वटा सोमबारलाई अझ भव्य बनाउन लागेको बताउँछन् । साउन विशेषका महाआरती कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर धार्मिक संघसंस्था र महाआरतीका साझेदारबीच शनिबार सुझाव लिएको गुठीले साउनको अन्तिम सोमबारलाई विशेष महाआरती बनाउने तयारी गरिरहेको छ ।
अध्यक्ष अधिकारीले महाआरतीमा भएका कमिकमजोरीमा सुधार गर्दै सभ्य, भव्य र धार्मिक उत्सवको रुपमा महाआरतीलाई १३१ पटक निरन्तर आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेको बताउँदै महाआरती आफैमा विशेष हुने भए पनि साउनको अन्तिम दुई सातालाई अझ बढी भव्य बनाउन बढीभन्दा बढी भक्तजनको सहभागिताका लागि आव्हान गरे ।
बागेश्वरी गुठी समितिका कोषाध्यक्ष मधुसूदन शर्मा, बागेश्वरी गुठीको महाआरती सञ्चालन तथा व्यवस्थापन उप समितिका संयोजक तथा गुठी सदस्य सुनिलसिंह हमाल, समिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले महाआरतीमा भएका कमीकमजोरी सुधार गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा, पर्यटनकर्मी, पत्रकारलगायतले महाआरती र शक्तिपीठ बागेश्वरीमा सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।