मानखोलामा डुबेर बेपत्ता थारुको शव फेला

खजुरा : बाँकेको खजुरा गाउँपालिकाको वडा नं. २ का एक किशोर मानखोलामा डुबेर बेपत्ता भएको एक दिनपछि शव फेला परेको छ ।
खजुरा २ का वडा अध्यक्ष धनराम ओलीका अनुसार गत २४ साउन शनिबार मानखोलामा डुबेर बेपत्ता भएका सोही वडाका लालबहादुर थारूका १८ बर्षिय छोरा अविशेष चौधरीको शव आइतबार दिउँसो पौने तीन बजेतिर फेला परेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बलका गोताखोरको टिम, नेपाल प्रहरी र स्थानीयले सयुक्त रुपमा खोजी गर्दा घटनास्थलभन्दा ५० मिटरको दूरीमा शव फेला परेको हो । भेरी अस्पताल नेपालगन्जमा शवको पोष्टमार्टम गरेर सोमबार बिहान मानखोलाको रामघाटमै दाहसंस्कार गरिएको थियो ।
मृतक थारु जनता नमुना माध्यमिक विद्यालय सन्तकुटीमा कक्षा १० मा अध्ययनरत थिए । उनको निधनमा विद्यालयले शोक विदा दिएको छ । विद्यालयमा कक्षा नर्सरीदेखि १० कक्षासम्मका सोमबारका परीक्षा पनि स्थगित गरेको छ । यसरी स्थगित गरिएका परीक्षा आगामी १ भदौमा हुने विद्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।