पत्रकार दाहाललाई बास-ब्राइटल्याण्ड युवा पुरस्कार
नेपालगन्ज : पत्रकार खगेन्द्र दाहाललाई यो वर्षको बास ब्राइटल्याण्ड युवा पुरस्कार प्रदान गरिएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त रुपमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्की, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, ब्राइटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिना लगायतले दाहाललाई सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरेका हुन् ।
युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सूचकका आधारमा दाहाललाई छनौट गरिएको हो । पत्रकारितासँगै दीनदुःखीको सेवामा क्रियाशील दाहालले खजुरा-६ सिमलघारीका दृष्टिविहीन जयबहादुर बिक र खजुरा-४ थपलटका भीमबहादुर खत्रीको घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । दुबै जनाका घर भत्केर घरवारबिहिन भएका बेला दाहालले सहयोग अभियान सञ्चालन गरि दुई महिनाभित्र घर निर्माण गरि चापी हस्तान्तरण गरेका थिए ।








