नेपालगन्ज-दिल्ली हवाइ उडानमा विप्लवको पनि ऐक्यबद्धता !
नेपालगन्ज : नेपालगन्ज-दिल्ली सिधा हवाइ उडानमा नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको उत्पादनमूलक व्यवसाय विषयक छलफल कार्यक्रममा पार्टीका महासचिव ‘विप्लव सी’ले ऐक्यबद्धता जनाएका हुन् । कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले महासचिव विप्लव सीसँग नेपालगन्ज दिल्ली उडानबारे पार्टीको धारणा के हो भनेर जिज्ञासा राखेका थिए ।
‘नेपालगन्ज दिल्ली डाइरेक्ट उडान होस् भनेर यहाँहरुले राज्यसँग प्रस्ताव गर्नु भएको रहेछ । प्रधानमन्त्रीज्यूबाट पनि सकारात्मक जवाफ दिएको र अरु दलहरुले पनि सहयोग समर्थन गरेको भन्ने सुनियो । पहलका लागि यहाँहरुलाई धन्यवाद दिन चाहन्छु’, विप्लव सीले भने, ‘नेपालगन्ज दिल्ली सिधा हवाइ उडानबारे हामी केन्द्रमा पनि नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालयसँग, मन्त्रीहरुसँग आवश्यक सहयोग गर्नुपर्ने भयो भने नेकपा तयार छ । सहयोग हुन्छ । यहाँहरुको साथमै छ ।’
नेपालगन्ज दिल्ली सिधा हवाइ उडानबारे जिल्लाका सबै लुम्बिनी प्रदेश सरकार, जिल्लाका सबै स्थानीय सरकार, राजनीतिक दल र नागरिक समाजले लिखित रुपमै ऐक्यबद्धता जनाइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगन्ज दिल्ली सिधा हवाइ उडानलाई एजेण्डा बनाउन संघका अध्यक्ष टंकबहादुर धामी संयोजक रहेको नेपालगन्ज दिल्ली हवाइ उडानका लागि दवाब समूहले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा र पर्यटन मन्त्री बद्री पाण्डेलाई ८२ पृष्ठको ज्ञापन पत्र बुझाइसकेको छ ।









