नेकपा चन्दा मुक्त पार्टी हो : विप्लव सी

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले आफ्नो पार्टी चन्दा मुक्त भएको दाबी गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको उत्पादनमूलक व्यवसाय विषयक छलफल कार्यक्रममा महासचिव ‘विप्लव सी’ले सरकारमा जानेले भ्रष्टाचार गर्ने र सरकारभन्दा बाहिर रहने दलले चन्दा मागेर काम नगरेर खाने एउटै प्रवृत्ति मौलाएकाले आफ्नो पार्टीलाई चन्दा मुक्त गरेको दाबी गरे ।

उनले भने, ‘हाम्रो पहिलो कदम नै पार्टीलाई चन्दाबाट मुक्त बनाउने हो । सरकारमा जानेले करप्सन गर्ने, सरकारभन्दा बाहिर बस्नेले चन्दा माग्ने यो दुबैै एउटै प्रवृत्ति हो । यो काम नगरेर खाने प्रवृत्ति हो । राजनीतिक कार्यकर्ता भन्नाले राजनीति गरेको कारणले स्वतः आर्थिक लाभ पाउनुपर्छ भन्ने मनोदशा हामी माओवादीमा पनि आयो ।’
उनले कृषि क्षेत्रमा पाएको सफलतापछि लुगा उद्योग सञ्चालन गर्न लागेको बताए । नेकपाले उत्पादन गर्ने लुगाा अल्लो र भेडाको उनमा आधारित हुने उनले बताए । ‘हामीले ८० लाखदेखि झन्डै एक करोड बराबरको धान उत्पादन गरेका छौं । काभ्रेमा ४५ दिनमै मात्र पाँच लाखको काँक्रा बेचेका छौं । कैलालीमा ८ सय किलो तरबुझा उत्पादन गरेर १२ लाख आम्दानी भयो । २ लाख किलो आलु चौधरी गु्रपलाई बेचेका छौं । अकबरे खेती पनि राम्रै भएको छ’, उनले भने, ‘कृषिमा त हामी तीन वर्षको लक्ष्य दुई वर्षमै पूरा गर्न सफल भएका छौं । अब लुगा उद्योग खोल्ने पार्टीले निर्णय गर्नेछ ।’ उनले लुगा उद्योग कुन कुन जिल्लामा कति वटा खोल्ने त बताएनन् । लुगा उद्योगका लागि आवश्यक पर्ने ऊनका लागि भेडापालन गरिएको जानकारी दिए । अल्लोबाट लुगा उत्पादन गर्ने पनि बताए ।
‘पूराना पार्टी जस्तै चन्दा मागेर पनि भएन । चन्दा नमागेरै कार्यकर्तालाई खान पुग्ने खाद्यान्नका लागि खेती सुरु गरिएको हो । तीन वर्षमा हामीले नेता, कार्यकर्ता र पार्टीलाई पुग्ने धान उत्पादन गर्ने लक्ष्य थियो । जुन दुई वर्षमै पूरा भएको छ’, उनले कृषिको उत्पादनमा लाग्नु परेको रहस्य खोल्दै भने, ‘हामीले पार्टी, नेता र कार्यकर्तालाई उत्पादनसँग जोडेर दलाल हुनबाट जोगाएका छौं । यसरी उत्पादित कृषि उपज पार्टीका कृषि उत्पादन केन्द्रबाट बिक्री केन्द्रबाट सहुलियत दरबाट बिक्री गरिरहेका छौं ।’
नेकपाले कृषिको उत्पादन गर्न थालेपछि सामन्तवाद र पूँजीवादलाई समयसापेक्ष रुपमा परिभाषा गरेको छ । विप्लव सीका अनुसार विगतमा कम्युनिष्ट पार्टीले धनी जति सबैलाई सामन्तवादको कोटीमा राखेर गल्ती गरेको भन्दै पैसा कमाउने सबै सामन्त होइनन् भनिएको छ । माक्र्सले भने झैं सम्पत्तिमा सामूहिक स्वामित्व सम्भव र वैज्ञानिक नभएको भन्दै उनले एकीकृृत स्वामित्वमा जानुपर्ने बताए ।
उनले पार्टीले गर्ने उत्पादनका कार्यमा खटिने नेता कार्यकर्तालाई उनीहरुको श्रम, सीप र समय अनुसार पारिश्रमिक दिने गरेको पनि बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, संघका द्वीतिय उपाध्यक्ष हरिलाल न्यौपाने र व्यवसायी उषा थापा भण्डारीले उत्पादनमूलक व्यवसायबारे जिज्ञासा राखेका थिए ।