साधारणसभा भएको ९ महिना बित्दा पनि भएन नयाँ नेतृत्व चयन !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरको एक सहकारी संस्थाको चुनावी साधारणसभा भएको ९ महिना बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन ।
टीकापुर नगरपालिका वडा न ८ बटनपुरको धनसिंहपुर ग्रामीण विद्युत सहकारी संस्थाको चुनावी साधारणसभा भएको ९ महिना बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको हो । राजनीतिक खिचातानी र एकले अर्कोको अस्तित्व स्विकार्न नसक्नुले गर्दा हालसम्म नयाँ नेतृत्व चयन गर्न नसकिएको जानकारहरु बताउँछन् । धनसिंहपुर ग्रामीण विद्युत सहकारी संस्थाका ब्यवस्थापक डिक्रा साउँदका अनुसार २०८१ पौष ६ गतेका दिन संस्थाको चुनावी साधारणसभा भएको र हालसम्म पनि नयाँ नेतृत्व चयन गर्न नसकेर हालसम्म पुरानै सञ्चालक समितिका अध्यक्ष रणबहादुर साउँदको अध्यक्षतामा बैठक बसिरहेको छ । पूरानै सञ्चालक समितिका अध्यक्षको अध्यक्षतामा हालसम्म तीन पटक बैठक बसी सामान्य खालको निर्णय गरिएको छ । साधारणसभा भएको मितिमा नयाँ नेतृत्वका लागि दुई जनाको प्यानलले मनोनय दर्ता गरेको थियो । पुरानै सञ्चालक समितिका अध्यक्ष रणबहादुर साउदको प्यानल र धनसिंह साउदको प्यानलले मनोनय दर्ता गराएको निर्वाचन समितिका संयोजक भीमबहादुर महरले जानकारी दिए । निर्वाचन समितिका संयोजक महरका अनुसार दुई कार्यकालको अवधि पूरा गरि सकेको पूरानो सञ्चालक समितिका अध्यक्ष रणबहादुर साउदको पक्षबाट उपाध्यक्षमा मनसरा साउद, सचिवमा रतन खत्री, कोषाध्यक्षमा योगेन्द्र साउँदले उम्मेदवारी दर्ता गराएका थिए भने धनसिंह साउदले अध्यक्ष, उपाध्यक्षमा कृष्ण नेपाली, सचिवमा ईश्वर चौधरीले र कोषाध्यक्षमा मनसरादेवी बिकले उम्मेदवारी दर्ता गराएका थिए । संयोजक महर दुबै प्यानललाई सहमतिका लागि अनुरोध गरेता पनि सहमति हुन नसकेको बताउँछन् । पूरानो सञ्चालक समितिका अध्यक्षसहितको प्यानलले दुई कार्यकालको अवधि पूरा गरेकाले सहकारीको नियम तेश्रो कार्यकालका लागि आउन नपाउने भन्दै धनसिंह साउँद पक्षले दाबी विरोध गरेपछि नयाँ नेतृत्व चयन हुन नसकेको निर्वाचन समितिका संयोजक महरले बताए । संयोजक महरका अनुसार संघीय सरकारको सहकारी नियम अनुसार र नगरपालिकाद्वारा जारी गरिएको सहकारी सम्बन्धी नियमावलीमा दुई कार्यकाल पूरा गरि सके पश्चात् तेश्रो कार्यकाल खान नपाउने नियममा रहेको बताएका छन् । सो नियम अनुसार पूरानो सञ्चालक समितिका अध्यक्ष रणबहादुर साउँदले छोड्नु पर्ने देखिएको बताए । निर्वाचन समितिका संयोजकले एक दुई दिनमा दुबै पक्षलाई सहमतिका बोलाउने र सहमति हुन नसके निर्वाचन समितिबाट राजिनामा दिन बाध्य हुने बताएका छन्।