पत्रकार महिलाबीचको तीज गीत प्रतियोगितामा केसी प्रथम
नेपालगन्ज : बाँकेका पत्रकार महिलाबीचको मौलिक तीज गीत प्रतियोगितामा धना केसी प्रथम भएकी छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेले बिहीबार नेपालगन्जमा आयोजनामा गरेको तीज मिलन कार्यक्रम अन्तर्गत मौलिक तीज गित प्रतियोगितामा शान्ति सुनार दोस्रो, अनिता विश्वकर्मा तेस्रो र विद्युतमा रैकाले सान्त्वना पुरस्कार जितेका हुन् ।
विजेतालाई क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ प्रदान गरिएको डब्लुडब्लुजे बाँकेका सचिव निशु जोशीले जानकारी दिइन् । संस्थाका अध्यक्ष साबित्री गिरीको पत्रकार महिलाको क्षमता अभिबृद्धि गर्ने र मौलिक संस्कृति जोगाउने कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने बताइन् ।
अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, डब्लुडब्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल,अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायणप्रसाद गौडेल, सञ्चारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिंह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशील पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले मौलिक तीज गीतको संरक्षण योगदान गरेको भन्दै डब्लुडब्लुजेको प्रशंशा गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।
कार्यक्रमलाई थिंक एजुकेसनल कल्सल्टेन्सीले प्रायोजन गरेको थियो । शिखर प्लाई उद्योग र सिने रोयल नेपालगन्जले सहप्रायोजन गरेका थिए । यस्तै, नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो । महिला उद्यमी संघ नेपाल बाँके, नेपालगन्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल र राजा खान विइङ ह्युम्यान संस्थाले प्रायोजन गरेका थिए ।








