तीज विशेष लेखनवृत्ति प्रतियोगितामा विसी प्रथम

नेपालगन्ज : बाँकेका महिला पत्रकारबीच गरिएको तीज विशेष लेखनवृत्ति प्रतियोगितामा लक्ष्मी बिसी प्रथम भएकी छन् । नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको प्रतियोगितामा बिसीले लेखेको ‘बढ्दो आधुनिकीकरण र तीजको मौलिकता’ शीर्षकको लेख प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा आशा परियार दोस्रो र शिवानी बिक तेस्रो भएका थिए । प्रतियोगितामा सहभागी भएका ७ जना प्रतियोगीमध्ये अछरी पोखरेल, आरती कट्टेल, निर्मला चौधरी र शान्ति सुनारले सान्त्वना स्थान ल्याएको छनोट समितिका संयोजक निरज गौतमले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरी, प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी र युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले बिजेता प्रथम, दोस्रो, तेस्रो र सन्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक एक हजार नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

बरिष्ठ पत्रकार नीरजकुमार गौतमको नेतृत्वमा किरण आचार्य र कमल खत्री सम्मिलित तीन सदस्य निर्णायक रहेका थिए । युनियनले विगत तीन वर्षदेखि पत्रकार महिलाबीच तीज विशेष लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने र महिला पत्रकारले लेखेका लेख र फिचरहरु समेटेर पत्रिका समेत प्रकाशित गर्दै आएको छ ।


युनियन बाँकेका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघ उपाध्यक्ष करुणा शाह, सञ्चारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, शिक्षाविद् किरण आचार्य, युनियन बाँकेका सदस्य लक्ष्मी गौडेलले बधाइ तथा शुभकामना दिएका थिए ।