आर्ट अफ लिभिङद्वारा नुवाकोट कारागारमा प्रिजन स्मार्ट कार्यक्रम

खम्पाक्याम्प (नुवाकोट) : द आर्ट अफ लिभिङको कैदीबन्दी लक्षित योगध्यान शिविर प्रिजन स्मार्ट कार्यक्रम नुवाकोेट कारागारमा सम्पन्न भएको छ । द आर्ट अफ लिभिङ नेपालले जिल्लाको खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागार नुवाकोटमा आयोजना गरेको प्रिजन स्मार्ट कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

योग प्रशिक्षक काव्य लम्साल ६८ जनाको सहभागिता रहेको कार्यक्रममा कैदीबन्दीमा सकारात्मक सोचको विकास भएको र वर्तमानमा खुसी हुँदै जीवन जिउन सक्ने कला सिकेको बताउँछन् । कार्यक्रममा योग, प्राणायाम, सुदर्शन क्रिया गराइन्छ जसले उनीहरुमा उत्साह उमंग साथै आगामी दिनमा समाजमा फर्केर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने लम्साल बताउँछन् ।
कार्यक्रमका एक सहभागी शिविरमा सहभागी हुँदा मन शान्त भएको र समाजमा गएर राम्रो काम गर्ने प्रेरणा मिलेको एक सहभागीले प्रतिक्रिया दिए । अर्का सहभागीले आत्मविश्वाल बढेको बताए। आध्यात्मिक गुरु श्री श्री रविशंकरले स्थापना गरेको द आर्ट अफ लिभिङ फाउण्डेशनले हिंसा मुक्त समाज, रोग मुक्त शरीर, तनाव मुक्त मनको मूल ध्येयका साथ विश्वका १८४ बढी देशहरुमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, आध्यात्मिक ज्ञान, सेवा र शिक्षा प्रदान गरिरहेको छ ।