नेपालगन्ज-दिल्ली हवाई उडान दवाब समूहको समीक्षा बैठक
नेपालगन्ज : नेपालगन्ज दिल्ली हवाई उडान दवाब समूहले आइतबार नेपालगन्जमा समीक्षा बैठक गरेको छ ।
समूहका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा बसेको बैठकमा नेपालगन्ज दिल्ली हवाई उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा.आरजु देउवा, पर्यटनमन्त्री बद्री पाण्डेलाई बुझाएको ज्ञापन पत्रका विषयमा समीक्षा गरिएको थियो । बैठकमा संयोजक धामीले प्रधानमन्त्री र मन्त्रीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको जानकारी गराएका थिए ।
उनले नेपालगन्ज दिल्ली हवाई उडानका लागि साथ र सहयोग गर्ने प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री देउवा, पर्यटनमन्त्री पाण्डे, उडानका लागि लिखित तथा मौखिक ऐक्यबद्धता जनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, पूर्वमन्त्रीहरु सञ्जय गौतम, महेश्वर गहतराज अथक, बाँके र बर्दियाका प्रतिनिधिसभा सदस्य, लुम्बिनी प्रदेशसभा सदस्य, बाँकेका स्थानीय तह, जिल्लाका राजनीतिक दल, नागरिक समाज लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
बैठकमा समूहका सदस्यहरुले ज्ञापन पत्र बुझाउन क्रममा आफूले सुनेका, देखेका र भोगेका अनुभव सुनाएका थिए । बैठकमा सदस्यहरुले नेपालगन्ज दिल्ली हवाइ उडानका लागि गठन गरिएको समूहलाई जिल्लाका नागरिक सरोेकारका मुद्दामा पनि एक भएर काम गर्न सुझाव दिएका थिए ।








