उज्यालो बहुउद्देश्यीय सहकारीको नाफा सवा १० लाख

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गएको वर्ष सवा १० लाख रुपैयाँ नाफा कमाएको छ ।
सहकारीको शुक्रबार सत्तीमा सम्पन्न १९औं वार्षिकोत्सवमा कोषाध्यक्ष पराङ्कुस चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १० लाख ३२ हजार ८ सय ८६ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म सहकारीमा एक हजार ८७ जना सदस्य आबद्ध भइसकेको र ५३ लाख ३४ हजार चार सय रुपैयाँ सेयर पूँँजी रहेको जानकारी दिँदै कोषाध्यक्ष चौधरीले सहकारीले दुई करोड २१ लाख ३५३ रुपैयाँ कर्जा लगानी गरेको बताए । टीकापुर नगरपालिका–६, सत्तीमा श्री उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय रहेको छ ।
संस्थाका अध्यक्ष डम्बरबहादुर घर्तीको सभापतित्वमा भएको वार्षिकोत्सवमा टीकापुर–६ का वडाध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि तथा वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने विशिष्ट अतिथि रहेका थिए। व्यवस्थापक रामकृष्ण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रगतिशील बचत तथा ऋण सहकारीका अध्यक्ष गीता चौधरी, पत्रकार गणेश क्षेत्री, सल्लाहकार संयोजक वीरेन्द्र शाह लगायतले शुभकामना दिएका थिए ।
स्थापना कालमा ३१ सदस्यबाट सुरु भएको सहकारीले हाल धान, गहुँ लगायतका बिउ उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। हालसम्म एक सय बिगाहा क्षेत्रफलमा बिउ उत्पादन गरी कैलाली, कञ्चनपुर, दाङ र चितवनसम्म बिक्री गर्दै आएको छ । सहकारीले यस वर्षदेखि माटोको उर्वराशक्ति बढाउन अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ढैचा खेतीको बिउ उत्पादन समेत सुरु गरेको छ।








