शिखा एकेडेमी जिल्ला उपाधिको ६ महिनामै प्रदेश पौडी च्याम्पियन !

६ महिना अघि बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको पनि शिखा एकेडेमी च्याम्पियन हो

शंकरप्रसाद खनालनेपालगन्ज
बाँके कोहलपुरको शिखा एकेडेमी लुम्बिनी प्रदेश स्तरीय पौडी प्रतियोगिताको च्याम्पियन बनेको छ ।
२४ चैत्र २०८१ मा प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको च्याम्पियन बनेको शिखा स्कुल ६ महिना नबित्दै रुपन्देहीको लुम्बिनी वर्ल्ड स्कुलले आइतबार आयोजना गरेको लुम्बिनी वर्ल्ड स्कुल प्रदेश स्तरीय पौडी प्रतियोगिता (यू १५)मा १३९ स्कोर ल्याएर प्रथम भएको विद्यालयका पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए । शिखाबाट सहभागी भएका १५ जना खेलाडीले ८ वटा स्वर्ण, २२ रजत र १५ काँस्य पदक ल्याएका थिए । पौडी पोखरी बनाएर विद्यार्थीलाई नियमित प्रशिक्षण गराउने शिखा जिल्लाको एक मात्र विद्यालय हो ।

प्रतियोगितामा नेपालगन्जको आदर्श स्कुल ४५ अंक ल्याएर दोस्रो भएको थियो । आदर्श स्कुलका लागि संस्कार न्यौपाने एक्लैले ६ वटा स्वर्ण पदक र समृद्धि न्यौपानेले ३ वटा स्वर्ण पदक दिलाएका थिए । महिलातर्फ सर्वाधिक ३ स्वर्ण पदक विजेता समृद्धि प्रतियोगिताको सर्वोत्कृृष्ट महिला पौडी खेलाडी घोषित भइन् । आदर्श विद्यालयले हरेक कक्षाका विद्यार्थीलाई अनिवार्य रुपमा १५ दिनको पौडी प्रशिक्षण दिने गरेको छ ।
प्रतियोगितामा आयोजक लुम्बिनी वर्ल्ड स्कुल ३६ अंक ल्याएर तेस्रो भयो । विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद ढकालका अनुसार पहिलो पटक पौडी प्रतियोगितामा सहभागिता जनाएको विद्यालयले तीन स्वर्ण, ३ रजत र ६ वटा काँस्य पदक जितेको थियो ।
प्रतियोगितामा नेपालगन्जकोे स्प्रिङ डेल एकेडेमीका एक्ला छात्र सुशान्त बोहोराले सर्वाधिक सात वटा स्वर्ण पदक जितेका थिए । बोेहोरा प्रतियोगिताको पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । नेपालगन्जमा संस्थागत रुपमा विद्यालयमा पौडी खेलको विकास गर्न स्प्रिङडेल एकेडेमीको भूमिका महत्वपूर्ण छ । कुनै बेला लुम्बिनी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा यही विद्यालयबाट पौडीका धेरै खेलाडी छनोट हुने गरेका थिए । प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश पौडी संघ प्रदेश खेलकुद परिषद्ले प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमा-५ स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको प्रतियोगितामा बाँके, बर्दिया, दाङ र रुपन्देहीका १५ विद्यालयका ९५ जना खेलाडी खेलमा सहभागी भएको प्रतियोगिताका संयोजक अनिल घोतानेले जानकारी दिए । बाँकेका शिखा, आदर्श, स्प्रिङडेल, गोरखा युनाइटेड पब्लिक स्कुल, सोफिया रेसिडेन्सियल स्कुल सहभागी भएका थिए । पौडी खेलका २५ मिटरदेखि १०० मिटरसम्मका प्रि स्टाइल, बेस्ट स्टोक, ब्याक स्टोक र बटर फ्लाइका कूल ३४ वटा इभेन्ट भएका थिए ।

आइतबार बिहानै नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले बाँकेबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई रुद्राक्षको माला लगाएर रुपन्देही पठाएका थिए ।