नाट्टा बाँकेको अध्यक्षमा रेग्मी निर्वाचित
कोहलपुर : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अध्यक्षमा डिल्लीराज रेग्मी निर्वाचित भएका छन् । रेग्मी निवर्तमान उपाध्यक्ष हुन् ।
नाट्टाको शनिबार कोहलपुरको पर्यटकिय क्षेत्र भरैया फार्मस्टेको सम्पन्न तेस्रो अधिवेशनले डोल्पोसागर टुर्स एण्ड ट्राभल्स प्रालि नेपालगन्जका प्रबन्ध निर्देशक रेग्मीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
कार्य समितिको उपाध्यक्ष झविलाल शर्मा, महासचिव भागिराम ओली, सचिव रेशमबहादुर खत्री, कोषाध्यक्ष कुमार चाल्स श्रेष्ठ र सह–कोषाध्यक्ष लवराज प्रधान निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा अल्पना गुप्ता, कुलबहादुर केसी, शम्भुकुमार बुढाथोकी, हरिप्रसाद शर्मा र कुशल दर्लामी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष डिल्लीराज रेग्मीले नाट्टा बाँकेमार्फत स्वदेशी तथा विदेशी पर्यटन भित्र्याउन र पर्यटकीय क्षेत्रको आर्थिक स्तर उकास्ने काम गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न साधारणसभाको कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदीले उद्घाटन गरेकी थिइन् ।