जेनजीको बाँकेमा शान्तिपूर्ण प्रदर्शन

नेपालगन्ज : बाँकेमा जेनजीले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् ।
सोमबार बिहानैदेखि नैपालगन्ज र कोहलपुरमा प्रदर्शन भए पनि शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।
नेपालगन्जको वीपी चोकमा बिहान ९ बजेदेखि नै भेला भएका करिब डेढ सयको संख्यामा रहेका जेनजी (युवायुवती) भेला भएका थिए । उनीहरुले भ्रष्टाचार हटाउ : देश बचाउ, स्टप करप्सन, नो मोर करप्सन, वी मेक नेपाल, नेपालको फ्रिडम जेनजीको भर्सन, वी विउल्ड नेपाललगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
देशको झण्डा बोकेर वीपी चोकमा १० बजेसम्म प्रदर्शन गर्दै उनीहरु नारा लगाउँदै सुर्खेत रोड, धम्बोझी हुँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि केही बेर प्रदर्र्शन गरेका थिए । जेनजीले नेपालगन्जमा मोटरसाइकल र्याली पनि निकालेका थिए । प्रदर्शनकारीले वीपी चोकको सडकमा टायर बालेका थिए । उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गर्दै केही बेर नगर प्रमुख प्रशान्त विष्टलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग र रत्नराजमार्गकोे संगमस्थल कोहलपुर चौराहामा पनि ५०० बढी जेनजीले प्रदर्शन गरेका थिए । कोहलपुर चौराहामा भेला भएका जेनजीहरुले नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । कोहलपुर नगरपालिकाको कार्यालय अघि प्रदर्शन गर्दै चप्परगौडीमा केहीबेर राजमार्ग अवरुद्ध गरी दिउँसो २ बजेपछि प्रदर्शन रोेकिएको प्रवक्ता पातलीले जनाए ।