नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा शान्ति सुरक्षा कायम राख्न माग
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।
जेनजीको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा प्रहरीको गोली लागेर नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ धम्बोझीका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको निधन भएपछि बाँकेवासी आन्दोलित भएकाले कडा सुरक्षा व्यवस्था मिलाउन र आन्दोलनमा अनावश्यक बल प्र्रयोग नगर्न आग्रह गरेको संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीमबहादुर रानाभाटद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संघले आकस्मिक बैठक डाकेर मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । संघले मृतकलाई राहात, घाइतेको निःशुल्क उपचार, घटनाको उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलार्ई कारबाही गर्न पनि माग गरेको छ ।
संघले आन्दोलनका क्रममा नेपालगन्जले दुई जना होनहार युवा गुमाएको शोकमा मंगलबार एक दिन औद्योगिक प्रतिष्ठान र व्यवसाय बन्द गर्ने आव्हान गरेको थियो । उद्योगी व्यवसायीहरुले पनि बन्द गरेका थिए ।
त्यसैगरी जिल्लाका २२ जना अधिकारकर्मी र नागरिक अगुवाहरुले पनि संयुक्त विज्ञप्ती प्रकाशित गर्दै जेनजीको शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षबाट गरेको ज्यादतीको भत्र्सना गर्दै घटनाको न्यायीक छानबिनको माग गरेका छन् ।