संविधान दिवसमा बाँकेमा दर्जन बढी कार्यक्रम

नेपालगन्ज : ११ औँ संविधान दिवसको अवसरमा बाँकेमा दिनभर एक दर्जनभन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् । बिहानदेखि साँझसम्म जिल्लाका विभिन्न स्थानमा छुट्टा छुट्टै संघसंस्थाले कार्यक्रम आयोजना गरेका हुन् ।

अन्तरक्रिया
नेपाल पत्रकार महासंघ बाँके, बार एशोसियशन, इन्सेक लुम्बिनी प्रदेश कार्यालय लगायतका आधा दर्जन भन्दा बढी मानव अधिकार र सामाजिक विकासको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले संयुक्त रुपमा बदलिँदो परिस्थितिमा नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।
उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषद्का लुम्बिनी प्रदेश पार्षद ईश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकारकर्मी प्रकाश उपाध्याय, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, अधिवक्ताद्वय विश्वजित तिवारी र सुनिता शर्मा, मोहम्मद अयुव सिद्दिकी, पत्रकार शरण कर्माचार्य, विजय मल्ल, अधिकारकर्मी कमला पन्त, विनोद थापा, वेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती, गैरसरकारी संस्था महासंघ बाँकेका रमेश सिटौला लगायतले जेनजी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु पर्नेमा जोड दिएका थिए ।

आश्रमलाई खाद्यान्न सहयोग
संविधान दिवसको अवसरमा नेपाली कांंग्रेस बाँकेले शुक्रबार मानव सेवा आश्रम नेपालगन्जलाई खाद्यान्न सहयोग गरिएको थियो । पार्टीका जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवम संविधान सभा सदस्य बादशाह कुर्मी, जिल्ला उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, पूर्व जिल्ला उपसभापति सुनिलसिंह हमाललगायतको उपस्थिति रहेको थियो ।

सोफियाका विद्यार्थीले बनाएर झण्डा
नेपालगन्जको सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले विद्यालयमा विदा नदिएर विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रमकोे रुपमा संविधान दिवसमा नेपालको राष्ट्रिय झण्डा पेन्टिङ गर्न लगाएको थियो । विद्यार्थीले बनाएका झण्डाको प्र्रदर्शनी गरिएको थियो ।

दीप प्रज्जवलन
साँझ ६ बजेतिर शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले वीपी चोकमा शान्ति (यालीसहित दीप प्रज्जवलन गरेको थियो । कार्यक्रममा बास नेपालको पनि सहकार्य थियो ।

श्रद्धाञ्जली सभा
संविधान दिवसकै दिन जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले धम्बोझीस्थित वीरेन्द्र चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । जेन आन्दोलनको क्रममा निधन भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी आयुष थापा र शुलभ श्रेष्ठसँगै आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । जिल्लाका अधिकांश स्थानीय तह र सरकारी निकायले पनि संविधान दिवसमा कार्यक्रम गरेका थिए ।