गोपाल-नीना फाउण्डेशनद्वारा डुडुवाका ४५० जनाको निःशुल्क उपचार

नेपालगन्ज : गोपाल-नीना फाउण्डेशन नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिकाका ४५० जनाको निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
फाउण्डेशनले आइतबार डुडुवा २ नौरीगौढीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना महिला र १५३ जना पुरुषले निःशुल्क स्वास्थ्य परीक्षण, औषधि र स्वास्थ्य परामर्श सेवा लिएको फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले जानकारी दिइन् । डा.रमणका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्रीरोग, पेट, छाला रोगलगायतका विभिन्न प्रकारका रोगका बिरामीको स्वास्थ्य परीक्षण, निःशुल्क ओैषधि वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।

फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरीका अनुसार शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. रोमन किदवाई, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. डा. सलमान निजाम, डा. चन्दन सिंह, डा. सचिन शाह, यामिनी पन्त लगायतका विशेषज्ञ चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरका लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले आवश्यक औषधिहरु सहयोग गरेको थियो भने नेपालगन्ज शाखाका अध्यक्ष डा. दिगम्बर पाण्डे र सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाईले विशेष सहयोग गरेको कार्यक्रम संयोजक दिलिप गिरिले बताए ।
त्यसैगरि शिविरको लागि अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटल, गणेशमान चोक ड्रग्स स्टोर, सेभेन क्याफे, एनएमएसआरए लगायतले सहकार्य गरेको थियो ।
फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठले स्वस्थ समाजको निर्माण गर्ने हाम्रो अभियानमा भएको यस किसिमको सहकार्यहरू स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक, नियमित रक्तदान कार्यक्रम जस्ता उत्तरदायित्वमा निरन्तर प्रतिबद्ध रहँदै आएको फाउण्डेसनका लागि निकै प्रेरणादायी भएको बताए । उनले भने, गोपाल नीना फाउण्डेसन नेपाल आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।
२०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उनका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको नेतृत्वमा फाउण्डेशन स्थापना गरेका हुन् ।