बाँकेका उद्योगी व्यवसायीको माग : दशैं आयो सीमा नाका व्यवस्थित गरौं
नेपालगन्ज : बाँकेका उद्योगी व्यवसायीले सीमा नाकाको चेकजाँच प्रभावकारी नहुँदा राज्यले राजस्व गुमाइरहेको र स्वदेशी व्यवसायी धरासायी हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको दशैं, तिहार, नेपाल सम्वत्, छठको शुभकामना आदान प्रदान कार्र्यक्रममा उनीहरुले सरोकारवाला निकायलाई दशैंका बेलामा सीमा नाका व्यवस्थित गर्न माग गरेका हुन् । सीमापारी किनमेल गर्नेको घुइँचो लागिरहेको र नेपालगन्जका व्यवसायी झिंगा धपाएर मात्र बसिरहेको उनीहरुको गुनासो थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भारतबाट निर्बाध रुपमा सामान आयात हुँदा नेपालगन्जका व्यापारी किनेकै मोलमा पनि सामान बेच्न सक्ने स्थितिमा नरहेको बताए । उनले भने, ‘दशैंको मुखमा नेपालगन्जमा कालोबजारी हुन्छ कि भनेर चिन्ता नगर्नु होला । यहाँ त बजार नै सुनसान छ । किनेकै रेटमा पनि बेच्न सक्ने अवस्था छैन ।’
कार्यक्रममा संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले चोरको सूचना दिएर आतंक मच्चाइरहेकाले शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी प्रशासनसँग माग गरेका थिए ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष मख्खनबहादुर धामीले स्वागत र उपमहासचिव टेकबहादुर खड्काले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापा, नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीलगायतले जेनजी आन्दोलनले जिल्लाका सरकारी कार्यालयमा भएको क्षति र निजी क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमा संघका अध्यक्ष टंकबहादुर धामीले सीमा नाका व्यवस्थित गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले खेलेको भूमिका प्रशंशनीय भएको भनेर चर्चा गरेका थिए । उनले भने, ‘नेपाल सरकारले १०० रुपैयाँभन्दा माथिको सामान भन्सार तिरेर ल्याउनुपर्छ भन्नेमा सिडियो साबले जमुनाहा नाका पुगेरै रोक्ने काम गर्नुभयो । जेनजी आन्दोलनको बाहाना बनाएर सिडियो साबमाथि राजनीति भइरहेको छ । यो पटक्कै राम्रो भएको छैन ।’ उनले भारतमा एसएसबीले गरे झैं सीमा नाकामा कडाइ गर्न संघले आवश्यक पूर्वाधार निर्माण र प्रविधि जडानमा सघाउने प्रतिबद्धता पनि जनाएका थिए ।
चार जनालाई स्वागत तथा सम्मान
संघले जिल्लामा सरुवा भएर आएका सुरक्षा निकायका तीन जना प्रमुखलाई स्वागत र होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित अध्यक्ष भीमलाल कँडेललाई सम्मान गरेको थियो ।
नेपाली सेनाको बज्रदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसी र राष्ट्रिय अनुसन्धान विभागको बाँकेका प्रमुख एसपी हरिश विष्टलाई स्वागतलाई जिल्लामा स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी र संघका अध्यक्ष धामीले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।