शक्तिपीठ बागेश्वरीमा भित्र्याइयो फूलपाती, बनाइयो धार्मिक सर्किट
नेपालगन्ज : पीठ बागेश्वरी मन्दिरमा दशैंको फूलपाती भित्र्याइएको छ । बडादशैंको फूलपातीका दिन सोमबार बिहान ७ः३० बजेको शुभसाइतमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष समारोहका बीच फूलपाती भित्र्याएका हुन् ।
शक्तिपीठ बागेश्वरीलाई जिल्लाका अन्य धार्मिक क्षेत्रसँग जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्न पहिलो पटक राप्तीसोनारी, नरैनापुर र खजुराका मन्दिरबाट फूलपाती ल्याएर भित्र्याइएको छ ।
राप्तीसोनारी गाउँपालिकाको वडा नंं. ३ मा रहेको भुवरभवानी मन्दिरबाट पञ्चेबाजा र थारु नृत्यसहित फूलपाती ल्याएर भित्र्याइएको हो ।
त्यसैगरी लक्ष्मीनारायण मन्दिर र दुर्गाकालिका मन्दिर मनकामनापुर र खजुरा गाउँ कार्यपालिकाको सयुक्त प्रतिनिधित्वमा विशेष फुलपाती हर्ष उल्लास र खुसियालीका साथमा भित्र्याएको थियो ।
त्यसैगरी नरैनापुरको बाबा बर्फानी तथा सन्तानेश्वर मन्दिर मन्दिरबाट अवधि भजनसहित भक्तजनहरु फूलपाती ल्याएर भित्र्याएर आएका थिए ।
त्यसैगरी कालिका मन्दिर कोहलपुर ८ पिपरीबाट बागेश्वरी मन्दिरमा फुलपाती भित्र्याइएको थियो ।
बागेश्वरीलाई धार्मिक सर्किटको रुपमा विकास गर्न नाट्टा बाँकेले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी यस कार्यमा सफलता मिलेको बताउँछन् । उनी अरु मठमन्दिरलाई पनि बागेश्वरीसँग जोड्न आवश्यक रहेकोमा जोड दिन्छन् ।