बडादशैंको आठौँ दिन महाअष्टमी, बली पनि आजै

नेपालगन्ज : हिन्दुहरुको सबैभन्दा ठूलो पर्व बडादशैंको मंगलबार आठौं दिन अर्थात असोज शुक्ल अष्टमी हो ।
महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरित महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।
देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।
आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यस दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।

पञ्च बलिमा बोका, रागाँ, परेवा, हाँस र भेंडा पर्दछन्। तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृतिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख छ। यस्ता पशुत्व भाव हटाउन पञ्च बलिको प्रतिकात्मक उपाय निकालिएको कतिपयको भनाइ छ।
महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ। नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन्।
शक्तिपीठ बागेश्वरी लगायत देशैभरीका शक्तिपीठहरुमा बिहानैदेखि बली दिनेहरुको घुँइचो लागेको थियो । साँझसम्म बली दिइन्छ ।