ठाकुरबाबा गोल्डकप : आयोजकको विजयी सुरुवात

वनवीरपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ वनवीरपुरमा जारी चौथो ठाकुरबाबा गोेल्डकप फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो चरणमा शनिबार सम्पन्न चौथो खेलमा आयोजक ठाकुरबाबा नगरपालिका ५ बी समूहले ठाकुरबाबा-४ बीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा ठाकुरबाबा-४ ए सैनवारले ठाकुरबाबा-३ मिर्चैयालाई शून्यका विरुद्ध २ गोलले जित निकालेको हो । दोस्रो खेलमा बारबर्दिया नगरपालिका-४ ले गेरुवा गाउँपालिका-४ लाई शून्यका विरुद्ध एक गोलले जितेको थियो । तेस्रो खेलमा ठाकुरबाबा-९ ले राजापुर नगरपालिका-८ लाई शून्यका विरुद्ध २ गोलले विजयी भएको थियो ।
आइतबारको पहिलो खेलमा ठाकुरबाबा-१ डुम्रेनीले आयोजक ठाकुरबाबा- ५ एको सामना गर्नुपर्नेछ भने दोस्रो खेल ठाकुरबाबा-२ र ठाकुरबाबा-८ बीच हुने आयोजकले जनाएको छ ।
२०५७ सालमा जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता भइ निरन्तर क्रियाशील चूरे जनजागृति युवा क्लब वनवीरपुरले आयोजना गरेको गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने छ । त्यसैगरी सेमिफाइनल पुगेका अरु दुई टिमलाई जनही ७ हजार १११ रुपैयाँ, उत्कृष्ट खेलाडी, अनुशासन लगायतलाई जनही पैतीस सयदेखि चार हजार रुपैयाँ पुरस्कार दिने आयोजक संस्थाको तयारी छ । क्लबका सचिव ललित विष्टका अनुसार प्रतियोगितामा जिल्लाका ३१ वटा टिम रहेका छन् ।