ठाकुरबाबा गोल्डकप : ठाकुरबाबा-१ ले हरायो आयोजकलाई
वनवीरपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ वनवीरपुरमा जारी चौथो ठाकुरबाबा गोेल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आयोजक टिम पराजित भएको छ ।
प्रतियोगिताको आइतबार सम्पन्न पहिलो खेलमै ठाकुरबाबा नगरपालिकाको वडा नं. १ डुम्रेनीले आयोजक ठाकुरबाबा-५ एलाई शून्यका विरुद्ध एक गोलले जित निकालेको चुरे जनजागृति युवा क्लबका सचिव ललित विष्टले जानकारी दिए । यद्यपि आयोजकको अर्को टीम ठाकुरबाबा-५ बीले भने विजयी सुरुवात गरेको थियोे ।
प्रतियोगिताको दोस्रो खेलमा ठाकुरबाबा-२ ले ठाकुरबाबा८- लाई शून्यका विरुद्ध दुई गोलले जितेको थियो । सोमबार तेस्रो दिन पहिलो खेल मधुवन नगरपालिका-८ र बारबर्दिया नगरपालिका-२ बीच, दोस्रो खेल ठाकुरबाबा-३ नेउलापुर र ठाकुरबाबा-५ शाहीपुरबीच दोस्रो खेल, बारबर्दिया-५ र मधुवन-६ बीच तेस्रो खेल र ठाकुरबाबा-२ बी र ठाकुरबाबा-५ तकियाबीच अन्तिम खेल हुने सचिव विष्टले जानकारी दिए ।
२०५७ सालमा जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता भइ निरन्तर क्रियाशील चूरे जनजागृति युवा क्लब वनवीरपुरले आयोजना गरेको गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने छ । त्यसैगरी सेमिफाइनल पुगेका अरु दुई टिमलाई जनही ७ हजार १११ रुपैयाँ, उत्कृष्ट खेलाडी, अनुशासन लगायतलाई जनही पैतीस सयदेखि चार हजार रुपैयाँ पुरस्कार दिने आयोजक संस्थाको तयारी छ । क्लबका सचिव ललित विष्टका अनुसार प्रतियोगितामा जिल्लाका ३१ वटा टिमले रहेका छन् ।