नेपालगन्ज स्वीमिङ क्लबले पौडी प्रशिक्षक तयार गर्दै
नेपालगन्ज : नेपालगन्ज स्वीमिङ क्लब बाँकेले जिल्लामा पौडी प्रशिक्षक तयार गर्न लागेको छ ।
यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीपको पूर्वसन्ध्यामा २५ जना पौडी प्रशिक्षक तयार गर्न लागिएको हो । नेपाल पौड़ी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दीपक सागर सिंह सहितको टोलीले १२ र १३ कार्तिकमा नेपालगन्जमा दुई दिने प्रशिक्षण दिने क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।
अहिले बाँकेमा चन्दुराम चौधरी, दीपक परियारसहित आधा दर्जनको हाराहारीमा मात्र पौडी प्रशिक्षक छन् । नेपालगन्जका आधा दर्जन भन्दा बढी पौडी पोखरी भए पनि पौडी प्रशिक्षक विहीन नै छन् ।
प्रशिक्षकहरुले बाँकेका पत्रकारलाई पनि पौडी खेलबारे अभिमुखीकरण गर्नेछन् । जसबाट पत्रकारलाई पौडी खेलको समाचार लेखनमा सहजता हुनेछ ।
दुई महिनादेखि बन्द अवस्थामा रहेको पौडी पोखरीको तीन दिनदेखि सफाइ जारी छ । प्रतियोगितामा ८, १०, १२, १४, १७ मुनी र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच २५ मिटरदेखि ४०० मिटरको दूरीमा ५६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका दुई सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।








