राष्ट्रिय पौडी : १९ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको अग्रता, कसको मेडल कति ?
नेपालगन्ज : दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को पहिलो दिनको खेलमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले १९ स्वर्णसहित खेलमा अग्रता लिएको छ । प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शुक्रबार भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ । क्लबले जितेको स्वर्ण पदक मात्रै प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत हो । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ ।
नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र १ काँस्य पदक गरी ६ पदक, ललितपुरकै लिटिल एञ्जल्स स्कुलले १ स्वर्ण, २ रजत र ३ काँस्य गरी ६ पदक, बाँके कोहलपुरको शिखा एकेडेमीले एउटा पनि स्वर्ण नजिते पनि ३ रजत र ५ काँस्यसहित ८ वटा पदक जितेको छ ।
नेपालगन्जकै स्प्रिङडेल स्कुल र काठमाडौंको युनिग्लोब स्कुलले समान दुई दुई काँस्य पदक जितेका छन् ।
नेपालगन्ज स्वीमिङ क्लब बाँके, काठमाडौैंकोे राई स्कुल र कोशी प्रदेशले पनि समान एक एक काँस्य पदक जितेका छन् । शनिबार थप ३२ वटा पौडी इभेन्ट बाँकी नै रहेकाले बढी स्कोर ल्याउने टिमले प्रतियोगिताको उपाधि हात पार्नेछ ।









