बाँकेका ‘४५ प्रतिशत पत्रकार’लाई कोलेस्ट्रोलको समस्या

नेपालगन्ज : बाँकेमा मुटु परीक्षण गरेका ४५ प्रतिशत पत्रकारमा कोलेस्ट्रोलको समस्या पाइएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरी शुक्रबार आयोजना गरिएको निःशुल्क मुटु जाँच शिविरमा ७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विशेषज्ञ डा.कृष्ण अधिकारीले जानकारी दिए ।

फोटो सौजन्य : भगतराम थारु

डा.अधिकारीका अनुसार पत्रकारलाई उच्च रक्तचाप र सुगरको समस्या पाइएको छ । अस्वस्थ जीवनशैलीका कारण पत्रकारहरु मुटु रोगको जोखिममा परेको उनको भनाइ छ । ‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो, डा.अधिकारीले भने –‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौं ।’

फोटो सौजन्य : भगतराम थारु

वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाइ छ ।
कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धुमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न चिकित्सकको सुझाव छ ।

फोटो सौजन्य : भगतराम थारु

मुटु रोग विभागमै कार्यरत फिजिसियन डा.विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिएका छन् । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्यायाम गर्ने, खानपिनमा सचेतता अपनाउनु पर्नेमा उनको जोड छ ।
प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए ।

उद्घाटन मन्तव्यकाृ क्रममा अध्यक्ष चौलागाईले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताए ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सचेतना फैलाउन शिविरले आम पत्रकारहरुको ऐक्यवद्धता छ भन्ने सन्देश दिएको धारणा राखे ।

यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविर आयोजनाले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिए ।
स्वास्थ्य शिविरमा सबै पत्रकारको ब्लड प्रेसर, रगत परीक्षण र इसीजी गरिएको थियो ।