यु-१४ फुटबल प्रतियोगिता : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

नेपालगन्ज : बाँके जिल्ला स्तरीय यु-१४ फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता शनिबारदेखि क्वाटर फाइनलका खेलहरु सुचारु भएका हुन् । पहिलो खेलमा ग्रीनपिसले मनकामना माध्यमिक विद्यालय नेपालगन्जलाई ३-० ले पराजित गरेको थियो । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योति विद्याश्रमलाई १-० ले हराएको थियो ।
जेन्जी आन्दोलनका कारण रोकिएको प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको हो । प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन सन्चालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
ग्रासरुटबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शाही बताउँछन् । प्रतियोगितालाई यु–१४ जिल्ला स्तरीय छनोट प्रतियोगिताको रुपमा पनि लिइएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले लुम्बिनी प्रदेश स्तरीय यु–१४ प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछन् ।








